Blogger templates

Saturday, January 31, 2009

जोग मेहरका जोकहरु

Facebook

दार्जिलिंगका हम जाएगा जत्तिको त न भनूं, नेपालका भू पू मन्त्री जोगमेहर श्रेष्ठका जोकहरु बिभिन्न स्वरुप, प्रकारहरुमा सुनिन्छ। हिजो मेरो घरमा केही मित्र आफन्तहरुको सानो जमघट थियो। नेपालका मन्त्रीहरुको कुरा आंउदा पंचायत कालका मन्त्री जोगमेहर श्रेष्ठको कुरो निस्कियो। सबैले जोगमेहरका जोकहरु निकाले। त्यो म यहां प्रस्तुत गर्दैछु। वास्तवमा, जोगमेहरले बिभिन्न समय गरी अर्थ बाहेक सबै मन्त्रालय चाखे र हरेक मन्त्रालयमा हुंदा केही न केही हंसाउने भाषण वा काम गरे। हुन सक्छ कतिपय सत्य होलान् वा कति बढांइ चढाइ गरिएका होलान्, तर ती भरपुर मनोरञ्जक छन्।


जोगमेहर श्रेष्ठ खेलकुद मन्त्रीको रुपमा: यिनी एक पटक फूटबल खेलको समापनमा गएछन्। खेल पछिको समापन भाषणमा उनले भनेछन। “ एउटा भकुण्डो २२ जनाले खोसाखोस गरेर खेल्न परेपछि हाम्रो देशमा खेलकुदको बिकास कसरी हुन्छ? म तत्कालै बाबुहरु प्रत्येकलाई एउटा एउटा भकुण्डो दिलाईदिन्छु”।



जोगमेहर श्रेष्ठ शिक्षा मन्त्रीको रुपमा: यिनी अमेरीका भ्रमण गएर आएपछि भनेछन्। “ओहो, अम्रिकाने बच्चाहरु कति टाठा! अंग्रेजी त फरर बोल्दा रहेछन्”।

जोगमेहर श्रेष्ठ बन मन्त्रीको रुपमा: केही गाऊंलेहरु घरको छाना छाउन चाहिने खर राष्ट्रिय निकुञ्जबाट काटेर लैजान पाऊं भनेर निबेदन दिन आएछन्। उनले तोक लगाईदिएछन्- फेद चांहि नकाट्नू, हांगाबिंगा चांहि काटेर लैजान दिनू।

जोगमेहर श्रेष्ठ कानून मन्त्रीको रुपमा: एऊटा मुद्दाको बादी मुद्दा जिताई पाऊं भनेर मन्त्रीको सोर्स फोर्स लगाऊन आएछ। मन्त्रीले तुरुन्त न्यायधिशलाई फोन लगाएछन्। “ल, न्यायधिशज्यू, फलाना मान्छे मेरो हो, मुद्दाको फैसला उनको पक्षमा हुन पर्यो”। भोलीपल्ट सोही मुद्दाको प्रतिबादी पनि मन्त्रीको सोर्सफोर्सको लागि आएछ। मन्त्रीले धेरै कुरो सोद्धै नसोधी न्यायधिशलाई फोन लगाएछन्। “ल, न्यायधिशज्यू, यो मान्छे पनि मेरो हो, मुद्दाको फैसला उनको पक्षमा हुन पर्यो”। न्यायधिश छक्क परेछन्। एउटै मुद्दाका बादी प्रतिबादी दुबैलाई कसरी जिताउने? भएन, मन्त्रीलाई भेटेरै सम्झाउन पर्यो भनेर गएछन्। आफु झुक्किएको थाहा हुने बित्तिकै मन्त्रीले बठ्याइं गरेछन् “हत्तेरिका, मैले भनेर हुन्छ र? जसले जित्नु पर्ने हो उसलाई जिताउने, मलाई सोध्न पर्दैन”।

जोगमेहर श्रेष्ठ बिदेश मन्त्रीको रुपमा: बिदेशी कुटनितिज्ञहरुसंगको भेटघाटपछि बिदावारी हुंदा सबैले “सी यू अगेन” भन्दै जांदा रहेछन्। जोगमेहरजी चांही “हर्न, प्लीज” भन्दा रहेछन्। कारण, उनले नेपालमा ट्रकहरुको पछाडि दायां पट्टि “सी यू अगेन” र बायां पट्टि “हर्न, प्लीज” लेखेको देखेका रहेछन्।



जोगमेहर श्रेष्ठ गृह मन्त्रीको रुपमा: प्रहरीको फन्दामा परेको मान्छे छुटाउन सोर्सफोर्सको लागि एकजना मान्छे आएछ। मन्त्रीले एस्पीलाई तुरुन्त फोन लगाएछन्। “ल एस्पी साहेब, टंपाईहरुले समाटेर ल्याको ट्यो मान्छे मेरो परेछ, उसलाई “ठीटी” मिलाएर “छोरी” दिनू”। अर्थात, स्थिति मिलाएर छोडिदिनू।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Share

Pages

संबन्ध बिस्तार:

 ©sapanasansar.com 2006-2010

 © Test site for sapanasansar यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP